संस्मरण— सरणकुमार राई
संस्मरण
१.
(जीवनी)
मछिन्द्र बहादुर राई
भोजप’रका पहिलो कम्युनिष्ट
मछिन्द्र बहादुर राई
सरणकुमार राई
मानिसको जीवन युगअनुसार हुन्छ । कुन युगमा मानिस जन्मेको हो त्यस युगको अवस्था अनुसार नै मानिसहरूको जीवन निर्वाह, लालनपालन, मानसिक अवस्था र क्रियाकलापहरू ह’ने गर्दछ । धेरै मानिसहरू युगको अवस्था अनुसारको चलन, प्रथा, अवस्था र संस्कृतिमा आस्रित र निर्लिप्त भएर त्यसैमा आत्म समर्पण गरेर कुनै नयाँ सोचको थालनी गर्ने कुरासम्म कल्पना नगरी मर्छन् भने कोही मानिसहरू युगको अग्रगमनका लागि आफुले सक्ने योगदान गर्नु पर्छ भन्ने भावनाकासाथ सक्रिय रहन्छन् । आजसम्मका मानव सभ्यताको विकास दोस्रो खाले मानिसहरूको प्रयत्नबाट सम्भव भएको हो । १९८१ साल असार १६ गते शनिबार भोजपुर (माझकिरात)को छिनामखुमा पिता कुलमर्दन राई र माता कृष्णकुमारी राईको पहिलो सन्तान सुपुत्रको रूपमा जन्मनु भएका मछिन्द्र बहादुर राई पनि दोस्रो खाले मानिसहरूभित्र पर्नु हुन्छ । प्रतिकूल समय, परिस्थिति र अवस्थाको दास भएर बस्नुभन्दा असल समाज, युग र व्यवस्थाका लागि आफूले सक्ने योगदान गर्नु पर्छ भन्ने व्यक्तिहरूकै पंक्तिमा उहाँ पनि उभिनु भएको थियो ।
मछिन्द्र बहादुर राईको जन्म आधुनिक विश्वबाट अलगथलग रहेको एक्लो अँध्यारो राणा शासण कालमा भएको हुँनाले उहाँको बाल्यकाल सामान्य नै रह्यो । शिक्षा, स्वास्थ, सञ्चार र यातायात आदिको कुनै प्रकारको सुबिधा नभएको त्यो बेलाको अँध्यारो युगमा जन्मेका बालकहरू जस्तै उहाँ पनि हुर्कनु भयो । शिक्षा प्राप्त गर्ने बालकहरूको अधिकार हो भन्ने कुरा त्यति बेला कसैलाई थाहा थिएन । मानिस पशुसरहको जीवन गुजारी रहेका थिए । स्वास्थ सुबिधा त थिएन नै यातायात र सञ्चारको पनि कुनै प्रकारको साधन थिएन । जनसंख्या कम भएकोले आजजस्तो वातावरण प्रदुसित थिएन । तापनि सबै जन्मेका बालबालिकाहरू बाँच्छन् नै भन्ने थिएन । बाल मृत्यु दर उच्च थियो । मछिन्द्र बहादु’र राईकै पनि जम्मा जन्मेका ११जना भाईबहिनीहरूमध्ये दुई जना बहिनीहरू मात्र बाँचेका थिए । बाँच्नेहरूमा सबैभन्दा जेठो उहाँ र ९जना भाईबहिनीहरू मरेपछि जन्मेका कमला राई (ठूली कान्छी) र नरदेवी राई (कान्छी) तीन जना मात्र हुनुहुन्थ्यो ।
त्यति बेलाको चलनअनुसार मछिन्द्रबहादुर राईको विवाह दिल्पा, खोङटाङ निवासी दिलबहाद’र राईकी १३ वर्षिय काइली छोरी शिवमाया राईसँग सम्पन्न भयो । विवाह पश्च्यात उनीहरूले पारिवारीक अफ्ठ्यारा सजिलाहरूका बारे बुझ्ने अवस्थामा पुग्न नपाउदै दोस्रो विश्व युद्धको हल्ला छिनामखुमा पनि आइ पुग्यो । दोस्रो विश्व युद्धको प्रारम्भसँगै मुलुकभरका युवाहरू ब्रिटिश सेनामा भर्ती हुनुपर्ने सरकारी उर्दीका कारण मछिन्द्रबहाद’र राई (पहिलाको नाम तिलकबिक्रम राई ) ब्रिटिश सेनामा भर्ती हुनु यो । उहाँको ब्रिटिश सेना नं ९०४८२ थियो र सन १९४१डिसेम्बार २५ देखि १९४७सम्म कार्यरत रहि स्वेच्छाले राजिनामा दिई देशसेवाका लागि स्वदेश फर्किनु भयो । राम्रो दिमाग भएकै कारण ब्रिटिश सेनामा रहँदा उहाँले रोमन गोर्खाली र नेपाली पढन लेख्न सिक्नु भयो । पल्टनमा रहँदा पनि उहाँ स्वाभिमानी र निडर हुनुहुन्थ्यो । उहाँले नै सुनाउनु भएको पल्टनको एक घटनाले पनि सो कुरा पुष्टि गर्दछ । उहाँले भन्नु भए अनुसार पल्टनको भान्सा घरमा ठूलो भड्डुमा दाल उम्लिरहेको थियो । त्यहाँ तेलमा ढडाइएका खोर्सानीका ढिडीहरू तैरिरहेका थिए । भान्सेसँग उहाँले आफ्नो खाना थापेपछि एउटा माग्नु भयो । भान्सेले वास्ता गरेन । फेरि भन्दा दुईजना बीच भनाभन भयो । रिसले चुर भएर उहाँले भान्सेलाई जुरुक्क उचालेर त्यही दाल उम्लिरहेको भड्डुमा हाल्दिनु भयो । हत्तपत्त एमबुलेन्स ल्याएर भान्सेलाई अस्पताल लगियो । युद्धकाल भएकोले उहाँलाई पनि कुनै कारवाहि गरिएन । पल्टनमा भएका यस्ता घटनाहरूबाट उहाँकाे झडङ्ग रिसाउने बानी देखिन्छ । झडङ्ग रिसाए पनि त्यस्तो रिस एकै क्षण मात्र हुने गर्दथ्यो । तर त्यसरी उहाँको झडङ्ग रिसाउने बानीले गर्दा उहाँका कैयो साथीभाईहरू शत्रु पनि बनेका थिए ।
विश्व युद्ध समाप्त भएपछि ब्रिटिश सेनामा रहेका जवानहरूलाई सेनामा काम गर्ने वा स्वेच्छाले सेना छाड्ने विकल्प दिइएको थियो । तीन चार वर्ष विश्व युद्धको दौरानमा बर्माको जङ्गल जङ्गल र मैदानमा पाएको कष्ट सम्झेर साथै स्वदेश र परिवारको मायाले नाम काटि उहाँ स्वदेश फर्किनु भयो । स्वदेश फर्किएपछि २००७सालको क्रान्तिमा जनमुक्ति सेनामा संलग्न रहि सक्रिय हुनु भयो । सो जनमुक्ति सेना जोगवनीदेखि नै क्रान्तिमा राणा सेनासँग लड्दै नारदमुनी थुलुङ र रामप्रसाद राईको नेतृत्वमा धनकुटा, भोजपुर र ओखलढुङ्गा कब्जा गर्दै काठमाडौं पुग्यो । त्यस अवधिमा उहाँले पनि सेनामा रही तालिम प्राप्त गरेकोले मुक्ति सेनाको कमाण्डको जिम्मेवारी वहन गर्नु भयो । २००७सालको क्रान्ति सफल भएपछि त्यहि जनमुक्ति सेनालाई तीनवटा बटालियनको २१०० जवान रहेको पहिलो जनताको सेनाको रूपमा ‘रक्षा दल’ सेनामा रूपान्तरण गरियो । सो सेना सिंहदरबारभित्र राखिएको थियो । सो सेनाको दोस्रो बटालियनमा पहिलादेखि काम गरेको पद प.हे.मा उहाँ कार्यरत रहनु भयो । नेपालको इतिहासमा त्यो नै बिजेता जनताको पहिलो सेना थियो । ‘दिल्ली सम्झौता धोका हो र क्रान्ति अधुरो छ’ भन्दै पश्चिममा डा. के. आई. सिंहले क्रान्ति जारी राखेका थिए । ‘रक्षा दल’का केही जवानहरू गई गोरखाबाट डा. के. आई. सिंहलाई पक्राउ गरी ल्याई सिंहदरबार कम्पाउन्डभित्र राखेका थिए । त्यसै बेला भोजपुरका २००७सालका क्रान्तिवीर रामप्रसाद राईलाई भुगोलपार्कमा भाषण गरिरहेको बेला पक्राउ गरी सेन्ट्रल जेलमा राखिएको थियो । रामप्रसाद राई र डा. के. आई. सिंहको विचारले ‘रक्षा दल’का जवानहरूलाई प्रभाव पार्न थालेको थियो र दिल्ली सम्झौता रद्द गरी पूर्ण प्रजातन्त्रको घोषणा, क्रान्तिमा सहिद भएकाहरूको नामावली तयार गरि तिनीहरूको परिवारलाई संरक्षण र क्षतिपूर्ति दिनुपर्ने, ‘रक्षा दल’का जवानहरूका तलबबृद्धिजस्ता नौसुत्रिय मागहरू राजा त्रिभुवनसमक्ष ‘रक्षा दल’का जवानहरूले पेश गरे । सो माग पूरा नभएपछि ‘रक्षा दल’का जवानहरूले २००८साल माघ ९ गते माग पूरा गराउनका लागि सैनिक बिद्रोह थालनी गरे । नेपालको सैनिक इतिहासमा त्यो नै पहिलो सैनिक बिद्रोह पनि थियो । सो सैनिक बिद्रोहको नेतृत्व मछिन्द्र बहाद’र राई, नरबहादुर राई र केही अफिसरहरूले गरेका थिए । माघ ९ गतेदेखि १४ गतेसम्म सिंहदरबार ‘रक्षा दल’को कब्जामा रह्यो । त्यसै अवधिमा रामप्रसाद राई र डा. के. आई. सिंहलाई ‘रक्षा दल’ले जेलमुक्त गरेर नेतृत्व गर्न अनुरोध ग¥यो तर उनीहरू त्यो बिद्रोहको नेतृत्व गर्नुको सट्टा तिब्बततर्फ भागेर गए । गाथगादि ताकेको र सैनिक बिद्रोह गरेको अभियोगमा मछिन्द्र बहाद’र राई, नरबहाद’र राई र ‘रक्षा दल’का जवानहरू पक्राउ परे । उनीहरूलाई राजा त्रिभुवनको राज्यकालभरि वा आजीवन कारावासको सजाय तोकियो । षडयन्त्रमूलक ढङ्गमा ‘रक्षा दल’ सेना पनि बिघटन गरियो । यसरी पहिलो पल्ट गठन भएको जनताको सेनाको अन्त्य गरियो । यसरी जनताको सेनाको अन्त्य गरिए पछि जनता कमजोर भए र जननिर्वाचित सरकार र संसदलाई राजा महेन्दले २०१७ सालमा सजिलै भङ्ग गर्न सके ।
२०१०सालमा मछिन्द्र बहाद’र राई लगायत ५९जनाले जेलमुक्तिका लागि २८दिनसम्म आमरण अनसन गरे तर बालचन्द्र शर्मा लगायतका व्यक्तिहरूका षडयन्त्रले सो अनसन बिफल भयो । २०११सालमा मछिन्द्र बहादुर राई लगायत ४१जनाले जेलमुक्तिका लागि फेरि २९दिनसम्म पुनः आमरण अनसन गरे । सम्पूर्ण सजाय माफ भयो र उनीहरू जेलमुक्त भए । यस अवधिमा नेपाल कम्युनिष्ट पार्टिले समर्थन गरेको हुँदा सो पार्टिप्रति मछिन्द्रबहादुर राई आकर्षित भए । मछिन्द्रबहादुर राईले भोजपुर फर्किसकेपछि भोजपुर हटियामा मछिन्द्र बहाद’र राई, देवराज शाक्य, हर्कबहादुर श्रेष्ठ र पूर्णलाल ताम्राकार रहेको किसान संगठन गठन गर्नु भयो र पछि सो संगठन नै जिल्ला कमिटि बन्यो । यसरी उहाँ भोजप’र जिल्ला कमिटिको पहिलो डि.सि. एस.(डिस्ट्रिक्ट कमिटि सेक्रेटरी) हुनु भयो । मछिन्द्र बहादुर राई, देवराज शाक्य, हर्कबहादुर श्रेष्ठ र पूर्णलाल ताम्राकारहरू नै भोजपुर जिल्लामा कम्युनिष्ट विचारको विजारोपन गर्ने पहिला व्यक्तिहरू हुनु हुन्थ्यो । केही समयपछि देवराज राई पनि भोजपुरको कम्युनिष्ट पार्टिमा थपिनु भयो । २०१३/१४ सालतिर रङ्गीन पत्रपत्रिका देख्न पाउनु दुर्लभ कुरा थियो । तर हुलाक मार्फत नै रङ्गीन ‘सोभियत भूमि’ पत्रिका छिनामखु गाउँमा पुग्थ्यो । सो पत्रिकामा सोभियत देशले गरेका प्रगति, अन्तरिक्ष यात्रीहरूका तस्विर, कथा, छोटा कविता र कार्टुनहरू पकाशित भएका हुन्थे । बालक सरणकुमार राईले सोही पत्रिका हेरेर साहित्यमा लाग्ने प्रेरणा पाप्त भएको आफ्नो अन्तरवार्तामा स्वीकारेका छन् । केही समयपछि मदनमणि दिक्षितले ‘समिक्षा’ पत्रिका पनि हुलाक मार्फत नै छिनामखु गाउँमा पठाइ रहनु भएको थियो ।’ती पत्रपत्रिकाहरूले तात्कालिन समाजमा बामपन्थी विचारको प्रचार प्रसारमा महत्वपूर्ण भुमिका खेलेका थिए र २०१५ सालको आम निर्वाचनमा कम्युनिष्टप्रति युवाहरू आकर्षित भएका थिए । २०१५सालको पहिलो आम निर्वाचनमा मछिन्द्र बहादुर राईले उत्तरी क्षेत्रमा र हर्कबहाद’र श्रेष्ठले मध्य क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टिको उम्मेदवार भएर चुनाव लड्नु भयो । नेपाल कम्युनिष्ट पार्टी आम निर्वाचनमा ७५स्थानमध्ये ४सिटमा मात्र जित्न सफल भयो । भोजपुरमा पनि नेपाल कम्युनिष्ट पार्टी पराजित भयो । पराजित भए पनि आम जन मानसमा नेपाल कम्युनिष्ट पाटीको प्रभाव विस्तार भइरहेको थियो र कार्यकर्ताहरूको मनोबल खस्केको थिएन ।
मछिन्द्र बहादुर राई राजनैतिक रूपमा मात्र नभएर सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनु हुन्थ्यो । २०१३ सालमा राजा महेन्द्रको प”
ूर्वाञ्चल भ्रमण ह’ँदा उहाँ र देवराज राईको सक्रियताले छिनामख’ गाउँको स्क’ल श्री त्रिभ’वन धर्मोदय प्रा.वि. लाई नि.मा.वि. बनाउन स्वीकृति प्राप्त भएको थियो । राजा महेन्द्रको पूर्वाञ्चल भ्रमणका प्रभावशाली व्यक्तिहरू नरोत्तम राई र मकरबहादुर बान्तावा थिए र उहाँहरूबाट पनि नि.मा.वि. स्वीकृति प्राप्त गर्नमा सहयोग भएको थियो । साहित्यकार एवं गायक गणेश रसिकका अनुसार त्यतिबेला “ स्कुलको आर्थिक अवस्था नाजुक थियो । त्यसैले दशैं तिहारमा नाच निकालेर घरघर डुलाउदै सहयोग संकलन गर्ने कार्यक्रम तय भयो । देवराज फुफा, मछिन्द्र दाई, गङ्गा प्रसाद काका(रमिते), मति चन्द्र दाई, कला प्रसाद काका, नारान प्रसाद काका, तेज प्रसाद र खगेन्द्र काका भएर हर्कपाल बाजेको घरमा अभ्यास सुरु ग¥यो । केटी भएर नाच्नेमा म र कृष्ण थियौँ । ढटुवारेमा मछिन्द्र दाई, मति चन्द्र दाई, तेज प्रसाद आदि थिए । त्यसबेलाको गीतको बोल मलाई सम्झना छ—
हेर हेर दाजुभाई हाम्रो स्कूललाई कसरी सुधारी लाने हो ...।” (गणेश रसिक,संझना आइरहने ती क्षणहरू, छिनामखु, सामयिक संकलन २०५१)
मछिन्द्र बहादुर राई चाड पर्वमा रङ्गरउस गर्न पनि अत्यन्त रुचाउनु हुन्थ्यो । गाउँ धरमा उहाँलाई अगुवाको रूपमा मान्थे र उहाँकै नेतृत्वमा स्कूलका लागि चन्दा उठाउने नाच गानको कार्यक्रमहरू हुने गथ्र्यो । उहाँ नाच्न र गाउन सिपालु हुनुहुन्थ्यो । उहाँले नाचेको हेर्नेहरू मक्ख परेर भन्ने गर्थे ‘क्या फूर्तीसाथ नाचेको ।’ यस्तो मौका पर्दा साथीसङ्गीहरू माझ रमाइलो गर्नु हुन्थ्यो । हो, पनि जीवन शोक सुर्तामा डुबेर बिताउने कुरा होइन, जीवनको सुसेधन्दा बिर्सेर कोही कोही बेला त रमाइलो र मनोरन्जन पनि गर्नु पर्दछ , उहाँको जीवन पद्धत्ति थियो । काममा लाग्दा भने उहाँ गोरु व गधाहा झैँ कडा परिश्रम गर्नु हुन्थ्यो । कडा परिश्रम गरेर नै आफ्नो र परिवारको लालनपालन गर्नु भयो । कहिले नचाहिदो बदमासी काम गर्नु भएन । सर्वसाधारण आम मान्छे भएर बाँच्नु भयो, जीवन गुजार्नु भयो ।
२०१८सालमा छिनामखुमा श्री त्रिभ’वन धर्मोदय नि.मा.वि.भवन जिल्लाको बजेटबाट प्राप्त भएको १३,५००।–रकम लिइ उहाँले (स्कूलको सेक्रेटरी पनि हुनु भएकोले) किर्तेपाको जग्गा खरिद गरी देवीथानमा नयाँ भवन निर्माण गर्नुभयो । सो भवन निर्माण कार्यमा पिता कुलमर्दन राई र अन्य केही जनाको मात्र सहयोग प्राप्त भएकोले खर्च रकम अपुग हुँदा उहाँले भवन निर्माणका लागि मकरबहादुर कार्कीबाट १२००।–रकम आफ्नै नाममा तमसुक बनाई ब्याजमा ऋण लिनु भयो । भवन निर्माण भईसकेपछि उहाँ मधेस झर्नुभएकोले सो रकम स्कूल र उहाँबाट पनि तिरिएको थिएन । पछि मकरबहाद’र कार्कीले उहाँलाई सो रकम असुल उपर गराइ पाऊँ भनि भोजप’र जिल्ला अदालतमा मुद्दा दायर गर्नु भयो । वारेसले तारीख गुजारेकोले मुद्दा साहुको पक्षमा एकतर्फी फैसला भयो । उहाँले उक्त रकमको सावा ब्याज तिर्नु भयो । हाल स्कूल पनि बाक्टुवामा सरेकोले सो भवन रहेको स्थान प्रयोजनहीन रहेको छ । मोरङ्गमा झरिसकेपछि पनि बोराबाधको मालजङ्गलको सबै खेतीको लागि कुलो (पैनी) निर्माण गर्दा पनि उहाँलाई मुद्दा लगाई दुख दिने काम भएको थियो । सामाजिक कार्यमा संलग्न भए बापत उहाँले पुरस्कार भन्दा बढि जरिवाना नै पाउनु भएका यी उदाहरणहरू हुन् ।
२०१७सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्था भङ्ग गरि पार्टिहरू प्रतिबन्धित गरे । त्यसपछि मछिन्द्र बहादुर राईसँग या त पंचायत व्यवस्था स्वीकारेर पन्च हुनु पर्ने वा राजनीतिबाट पलायन हुनु पर्ने दुईवटा विकल्प थिए । भोजपुरमा पंचायत व्यवस्था नस्वीकारी बस्न नसकिने वातावरण तयार भयो । २०१७सालको राजा महेन्द्रको प्रतिगामी कदमलाई स्वागत गरेको भए उहाँले भोजपुर छाडनु पर्ने थिएन । अवसरवादि चरीत्र नभएकै कारण उहाँले आफ्नो आस्था र विचार छाड्नु भएन । त्यतिबेलाका कैयौ नेताहरूले झैँ पंचायत नस्वीकारी उहाँ भोजपुर छोडेर बोराबाध, कसेनी, मोरङ झरेर बस्न थाल्नु भयो । मोरङ्ग आई सकेपछि पनि उहाँ बामपन्थी विचारबाट कहिल्यै विचलित हुनु भएन । मोरङ झरेर जि. ज’द्धबहाद’र राईले खोलेका बोराबाध झोडामा झोडाजग्गा आवाद गरि खेतीपाती गरेर बस्न थाल्न’ भयो । यसरी बस्दा पनि उहाँ सामाजिक कार्यहरूमा सक्रिय रहनु भयो । बोराबाधको वीरेन्द प्रा. वि.को स्थापना र विकासमा उहाँले उल्लेख्य सहयोग गर्नु भयो । त्यति बेलाको समयमा मोरङ्गमा आज भोलि जस्तो बाटाहरू थिएनन् । वर्षामा, खोला नाला बढेर जताततै पानी नै पानी र हिलो हुन्थ्यो भने हिउदमा धुलैधुला, पैदल नहिँडि कही पुगिदैनथ्यो । घोडा देहातमा एउटा प्रम’ख साधन थियो । त्यति बेला उहाँ पनि कोही बेला घोडा चढेर हिड्नु हुन्थ्यो । बाटोघाटो बनेपछि घोडालाई साईकलले विस्थापन ग¥यो । मधेस झरेपछि उहाँले पनि साईकल नै चढेर आफ्नो अधिकांश जीवन बिताउनु भयो ।
मछिन्द्र बहादुर राईको पारिवारीक जीवन कडा परिश्रमका साथ सुखसितै बितेको थियो । उहाँको धर्मपत्नी शिवमाया राई पाहुनाहरूलाई राम्रो सत्कार गर्ने, विवेकी र कडा परिश्रम गर्ने हुनुहुन्थ्यो । पहाडमा बस्दा उहाँको घरमा कहिल्यै पाहुना टुट्दैनथ्यो । क.तुल्सीलाल अमात्य पनि उहाँको पहाड धरमा पाहुना हुनु भएको थियो । उहाँहरूको पहिलो सन्तानको रूपमा २००४सालमा छोरा सरणकुमार राईको जन्म भयो भने दुई छोरीहरू सुदेशा राई २००८सालमा र बिजयालक्ष्मी राई २०१८सालमा जन्मिएका थिए । यी सबै परिवारका साथ २०२०सालतिर उहाँ मधेस बसाइ सर्नुभयो । मधेस झरिसकेपछि पनि उहाँ बामपन्थी विचारमा नै अढिग रहेर पंचायतको कुनै निकायमा जानु भएन । तर आवश्यकता परेको बेला प्रगतिशील विचारका उम्मेदवारलाई सधैं सघाउनु भयो । मछिन्द्र बहाद’र राई मनमोहन अधिकारी लगायतका नेताहरूसँग सम्पर्कमा रहेर २०४६को जनआन्दोलनमा सक्रिय रहनु भयो । २०४७ देखि२०५०सम्म मोरङ, क्षेत्र नं. ४को कसेनी इलाका कमिटिको सदस्य हुनु भयो । २०५०सालमा भएको मोरङ जिल्ला अधिवेसनमा उहाँको कामको उच्च मूल्याङ्कन गर्दै उहाँलाई अभिनन्दन गरिएको थियो ।
जीवनको अधिकांश समय साइकल चढेर जीवन बिताउनु भएका मछिन्द्र बहादुर राईलाई पनि ७६ वर्षको उमेरमा मोटर साइकल चढने रहर जागेर आयो । २०५६सालमा छोरासँग गएर ‘हिरो होण्डा स्ट्रीट’ मोटर साइकल किन्नु भयो । त्यो मोटर साइकलमा क्लज थिएन र बिना क्लज नै गियर बदल्न सकिने व्यवस्था थियो । छोराले उहाँलाई मोटर साइकल चलाउन सिकाउन थाले । मोटर साइकल सिक्ने क्रममा उहाँ आफैले चलाएको मोटर साइकल बि.पी. स्वास्थ बिज्ञान प्रतिस्ठानको खाली चौरमा कम्पाउण्ड वालमा ठोक्किएर दुर्घटना भयो । बि.पी. स्वास्थ बिज्ञान प्रतिस्ठान (अस्पताल)मा तुरुन्त पु¥याइयो । बि.पी. स्वास्थ बिज्ञान प्रतिस्ठानको सल्लाह बमोजिम सिलगढि लगियो । उपचारकै क्रममा सिलगढि चाङको अस्पतालमा १६दिनका दिन मिति २०५७साल असार ३गते शनिबार उहाँको देहान्त भयो । उहाँको शव धरान ल्याई धरानको वार्ड नं. १९ मुनि जङ्गलमा चिहान बनाइ बिसर्जन गरियो । अहिले पनि सो स्थानमा उहाँको चिहान अवस्थित रहेको छ ।
मानव चोला क्षणभङ्गुर छ । सबैले पाउने आयु झन्डै झन्डै उस्तै उस्तै बराबरी जस्तै ह’न्छ । कोही राम्रा कामहरू गरेर सधैं सम्झन लायक बन्छन् । सादा जीवन बिताउनु ह’ने मछिन्द्र बहादुर राई दृढ विचार भएका क्रियाशील र शसक्त राजनैतिक व्यक्ति हुनु हुन्थ्यो । उहाँले नेपालको राजनैतिक विकासमा त्यस बेलाको वातावरण र परिस्थिति अनुरूप उल्लेखनीय योगदान गर्नु भएको थियो । सामाजिक र शैक्षिक विकासमा पनि त्यतिकै योगदान दिनु भएको थियो । आज जुन गणतन्त्रात्मक नेपाल छ उहाँहरूजस्तै सक्रिय र दृढ निश्चयी महानुभावहरूकै कारण प्राप्त भएको हो । उहाँलाई सम्झनेहरू थोरै भए पनि उहाँ सम्झन लायक व्यक्तिहरूकै श्रेणिमा पर्नु हुन्छ ।
२०७३।१।१७, धरान
(सरणकुमार राई त्रि. वि.का पुर्व सह प्राध्यापक, साहित्यकार र मछिन्द्र बहादुर राईका छोरा हुनु हुन्छ ।)
नवयुग (मासिक) वर्ष २६, अङ्क ७, असार २०७३ मा प्रकाशित
२.
मित्र ध्यानबहादुर राईसँगको लामो–छोटो सहयात्रा
सरण कुमार राई
“...जीवनको सुन्दरता सम्झना हो, सम्झना सधैं बाँचिरहेको हुन्छ । त्यो मानिस सबैभन्दा ठूलो मानिस हो, जसलाई धेरै मानिसहरूले सम्झन्छन् ।”
संसारमा जे जति छन् र जेजति गरिन्छ ती सब जिउँदाहरूका लागि हुन् । बाचुन्जेल सबथोक चाहिन्छ, मरिसकेकालाई त के चाहिन्छ र ? सम्झेपनि, बिर्सेपनि मरेकालाई के हुन्छ र ! जो थियो, छैन भएको छ, नभएकोको केही त हुँदैन । तापनि जिउँदाहरूले असल दिवङ्गतहरूलाई सम्झन्छन् । यो सम्झनु पनि जिउँदाहरूकै लागि हो । दिवङ्गतहरूको असल कृत्य र कृतिहरूबाट प्रेरित भएर सुन्दर संसारको सृष्टि गर्नका लागि पनि दिवङ्गतहरूलाई सम्झनु पर्छ । दिवङ्गतहरूलाई श्रद्धाञ्जली अर्पण गर्नु पर्दछ । यसो गर्नु जिउँदाहरूकै लागि भएकोले यो जिउँदाहरूको दायित्वभित्र पर्छ ।
दिवङ्गत ध्यानबहादुर राईसँग मैले पनि लामो वा छोटो सहयात्रा गरेको छु । सहयात्रीको रूपमा अनेकौं जीवनका आरोह अवरोह बेहोरेको छु । म उहाँलाई २०४४सालदेखि नै चिन्दथे । भर्खरको जोसिलो, जागरिलो र जुधारु पूर्वाञ्चल इन्जिनीयरि«ङ क्याम्पसको शिक्षकको रूपमा मेरो पहिलो परिचय भएको थियो । सक्रिय शिक्षित युवा उहाँमा प्रचुर क्षमता मौजुद भएको आभाषले उहाँप्रति आकर्षित भएको थिएँ ।
“जनजाति उत्थान मञ्च”मा उहाँसित पहलो सहकार्य गरियो । २०४५ सालमा सीताराम तामाङ र आनन्द सन्तोषी राई आएर धरान १९मा सालिक किरातीको घरमा इन्द्रहाङ लिम्बू, वंशी मोक्तान लगायत ६०÷७० जनाको भेलामा “जनजाति उत्थान मञ्च” गठन भयो । सो मञ्चको सभापतिमा मे. थामबहादुर राई, सचिवमा सरण कुमार राई, कोष्याध्यक्षमा सालिक किरात र सदस्यहरूमा इन्द्रहाङ लिम्ब,ू ध्यानबहादुर राई, प्रसाद थेवे, हङकङ राना, प्रेमसिंह लिम्बू, भिमबहादुर गुरुङ, दुर्गाधन राई आदि रहनु भएको थियो । २०४६को जनआन्दोलनलाई समर्थन गरेर सो संस्थाले पर्चा निकालेको थियो र आन्दोलनका अन्य कृयाकलापमा पनि संलग्न भएको थियो । जनआन्दोलनको सफलता पछाडि संविधान सुझाव आयोगमा सुझाव दिन सो मञ्चले २०४७ साल असार १७ गते आयोगका सदस्य भरतमोहन अधिकारीको टोलीलाई धरानमा जुुुलुस र आमसभाको आयोजना गरेको थियो । जुलुसमा २५हजारभन्दा बढि मानिसहरू (जनजातिआदिवासी, विविध धर्मावलम्वी महिला पुरुष)को सहभागिता र आमसभामा पचासौ हजार मानिसहरूको उपस्थिति रहेको थियो जुन धरानको पहिलो सबैभन्दा ठूलो ऐतिहासिक मौन जुलुस र आमसभा थियो । जुलुसमा भु.पु. सैनिकहरू ले. इन्द्रजित वनेम, ताङहाङ लिम्बू, देवमान लिम्बू, वर्तमान सुब्बा आदि, प्रध्यापकहरू सूर्यकुमार राई, विजया लिम्बू, दुर्गाधन राई, मानधोज लिम्बू आदि ब्यापारीहरू मोतिराज ताम्राकार, एकलाखे साहु, ज्योति शाक्य आदि र बिद्यार्थी, शिक्षक, किसान, मजदुर आदिको उल्लेख्य उपस्थिति थियो । आमसभाको प्रमुख अतिथी तिलबिक्रम नेम्वाङ, सभापति मे. चामबहादुर राई र प्रमुख वक्ता पद्मरत्न तुलाधर र अन्य वक्ताहरू अशोकुमार राई, सीताराम तामाङ, आनन्द सन्तोषी राई, सुवास नेम्वाङ, टङ्क राई, गिरीराज आचार्य र सरणकुमार राई आदि हुनुहुन्थ्यो । सो कार्यक्रमका सञ्चालक ध्यानबहादुर राई हुनुहुन्थो र उहाँलाई पहिलो पल्ट धरानका मानिसहरूले चिन्ने मौका पाएका थिए ।
२०४६को जनआन्दोलन सफल भएपछि २०४७ पौष १६ र १७ गते नेपाल कम्युनिष्ट पार्टिको वृहत राष्ट्रिय कार्यकर्ता भेला पोखरामा भयो । सो भेलामा धरानबाट पनि एक बस कार्यकर्ता सहभागि हुन गएका थिए । पहिलो दिन चिप्ले ढुङ्गाबाट भव्य जुलुस बजार परिक्रमा गरेर पोखरा मैदानमा आमसभामा परिणत भयो । मनमोहन अधिकारीको सभापतित्वमा भएको सो सभामा भारतीय कम्युनिष्ट पार्टिका सचिव सुरजित सिंह र मदन भण्डारीले पनि सम्बोधन गरेका थिए । आमसभा सकिएपछि पोखराको सेमिनार हलमा खाने बस्ने व्यवस्था भएकोले त्यहाँ गइयो । बेल्किको खानामा नुडल्स कम्पनिले सित्तैमा उपलब्ध गराएको म्याकरोनी खाईयो । म्याकरोनी भन्ने पहिलो पल्ट खाइयो र र्कायकर्ताको बेलुकिको छाक उसिनेको म्याकरोनीले टारीयो । सुत्ने बेला भयो, हलमा ओछ्याइएको दरि (मैला कार्पेट) नै ओछ्यान रहेछ । हुने खाने टाठाबाठा र जान्ने बुझ्ने सबै हाृेटलतिर सुत्न गए । केही सोझा सिधा त्यागी कार्यकर्ताहरू मात्रै त्यहा रात बिताउने जुझारु कार्यकर्ता रहन गए । ती मध्ये म र सेनकुमार राई पनि थियौँ । बेलुकि सुत्ने बेला सेनकुमारले भने— “सरणजी, म त एकवर्षभित्र मर्छु । मलाई क्यान्सर भएको छ ।”
म स्तब्ध हुन्छु । केही बोल्न भन्न सक्तिनँ, उनले एक वर्षभित्र मर्ने कुराले मनभित्र पारेको अपार पीडा खप्न नसकेर मनले खाएको मलाई उनले भनेका थिए । त्यो सुनिसकेपछि उनीप्रति मेरो माया र सहानुभूति यति धेरै बढ्यो कि म उनलाई मैले सक्ने हर सुख दिन चाहन्थे । तर त्यो रात हामीले दरिमै सुतेर काट्यो । नफर्कुन्जेल म उनीसँगै हर समय रहेँ । सँगसँगै खाने बस्ने ग¥यौँ, होटलमा खाएको म तिर्न खोज्थे तर उनी मान्दैनथे । धरान फर्केको छ महिनामा नै उनको गुमनाम मृत्यु भयो । नगर कमिटिको सदस्य भएकोले बैठकमा उनको श्रद्धाञ्जली पत्रिकामा निकाल्ने प्रस्ताव मैले राखेँ तर कसैले चासो राखेन्न् । अहिले पनि क्यान्सरको नाम आउदा म उनलाई सम्झन्छु ।
त्यो नेपाल कम्युनिष्ट पार्टिको वृहत राष्ट्रिय कार्यकर्ता भेलाको भोलिको बन्द सत्रमा माले र माक्र्सवादी एकिकरण गर्ने निर्णय भयो । त्यो पोखरा भेलाको निर्णय अनुसार तात्कालिन माक्र्सवादी र तात्कालिन माले एकिकरण भएर ने.क.पा. (एमाले) बन्यो । देशव्यापी पार्टि संगठन विस्तारको क्रममा धरान नगर कमिटिको २१ सदस्यीय नगर कमिटि बन्यो । त्यस कमिटिमा ध्यानबहादुर र म पनि थियौँ । पहिलो बैठकमा सचिव चयन गर्ने क्रममा मैले नै सचिवमा ध्यानबहादुर राईको नाम प्रस्तावित गरेको थिएँ । त्यो दिन टुङ्गो भएन तर अर्को बैठकमा ध्यानबहादुर राई सचिवमा र सहसचिवमा मलाई माथिल्लो कमिटिले नियुक्ति गरेको जानकारी गरायो । यसरी ने.क.पा.(एमाले), धरान नगर कमिटिमा ध्यानबहादुर सचिव भए ।
ध्यानबहादुर राई, गोविन्द सुब्बा र म मेरै घरमा एक बेलुकि खानपिन गदै विविध विषयमा गफ गर्दै निकै समय आनन्दसाथ बसेका थियौँ र मेरा लागि र हामी सबैजना मेरो पत्नी लगायत मेरो परिवार र उहाँहरूसँग बिताएको त्यो बेलुकि नै उहाँहरूसँगको रमाइलो अविस्मरणीय सम्झना भएको छ ।
२०४६ सालको आन्दोलनले बहुदलीय व्यवस्था स्थापना भएपछि धरान नगर पालिकाको पहिलो निर्वाचनमा प्रमुखमा नगर कमिटिले नाम सिफारिस गरेर माथिल्लो कमिटिमा पठाउनु पर्ने भयो । ध्यानबहादुर, म र मनोज मेयाङवोले इच्छा जाहेर गरे पछि गोप्य मतदान भयो । ध्यानबहादुर १४, मैले ६ र मनोजले ३ मत प्राप्त ग¥यौँ । पछि ध्यानबहादुर प्रमुखमा र उपप्रमुखमा मनोज मेयाङवोकोे निर्णय भयो ।
म क्याम्पसमा कार्यरत हुँनाले मलाई क्याम्पस चिफको चाहीँ रहर थियो । आन्दोलनमा प्राध्यापक क्षेत्रमा मैले धरानमा काठमाडौको केन्द्रिय न्युक्लियससँग समन्वय गरेर महत्वपूर्ण भूमिका खेलेकोले मलाई साथीहरूले क्याम्पस चिफ बनाउलान् भन्ने भरोसा थियो । तर बनाएनन् र म खिन्न भएर काठमाडौं सरुवा लिएर ४ वर्ष उतै बसेँ । मेरै घरमा एक बेलुकि खानपिन गदै विविध विषयमा गफ गर्दै निकै समय आनन्दसाथ बसेका ध्यानबहादुर राई र गोविन्द सुब्बा मेयरको प्रत्यासी भएर चुनाव लडे । त्यो चुनावमा मेरो कुने सरोकार रहेन । चुनाव ध्यानबहादुरले जिते र प्रम्ख (मेयर) भए ।
प्रमुख भएको कार्यकाल नै उहाँको जीवनको सुनौलो अवधि हो । त्यही बेला उहाँले गरेका राम्रा कामहरू (धरानको ब्लुप्रिण्ट र ब्लक नं.वितरण, सपिङ कम्प्लेक्स, सभाभवनको थालनी, सप्तरङ्गी पार्क र अन्य पर्यटकिय स्थल निर्माण, नगरपाकिाको संस्थागत विकास, धरानको योजनाबद्ध विकासको थालनी, धरान नगर पालिकाको चौमासिक बुलेटिन धरान दर्पण प्रकाशन आदि ) ले उहाँलाई अविस्मरणीय बनाएको छ ।
नेपालको राजनैतिक उतार चढावले हरेक मानिसको जीवनमा प्रभाव पारे झैँ ने.क.पां. (एमाले)को विभाजनले ध्यानबहादुर राईलाई पनि प्रभाव पार्ने नै भयो । सुनसरीमा उहाँ, म, राजेश बान्तावा, पोयराज निरौला, राजेन्द्र शर्मा, नवीन नेपाल लगायत निकै जना ने.क. पा. मालेमा गयौँ । संसदको आमचुनावमा उहाँ मालेको १ नं. क्षेत्रको उम्मेदवार हुनु भयो । उक्त निर्वाचन परिचालन समितिको सञ्योजक म थिएँ । सो समितिमा पोषराज निरौला, राजेन्द्र शर्मा, खगेन्द्र श्रेष्ठ, लक्ष्मीकुमार मास्के..... हुनुुहुन्थ्यो । चुनावमा पराजित भएपछि उहाँ पनि काठमाडौं बस्न थाल्नु भयो ।
ने.क. पा. (एमाल)ेका केन्द्रिय उपाध्यक्ष अशोककुमार राईले पार्टि छोडेर नयाँ पार्टि संघिय समाजवादी पार्टि बनाउनु भयो । ध्यानबहादुर राई सो दलको केन्द्रिय सदस्य भएर फेरि संसदको उ्र््््््म्मेदवार सुनसरी १ नं. क्षेत्रमा बन्नु भयो । तर विजयी बन्नु सक्नु भएन ।
म पनि पत्नीको अस्वास्थताका कारण तिनको उपचारका लागि काठमाडौंमा नै अधिकांश समय रहन थालेको थिएँ । मेरो बिरामी पत्नीलाई सुमेरु अस्पतालमा आएर उहाँले भेटेको समय नै उहाँसँगको मेरो अन्तिम भेट भए पनि फेसबुक मेसेन्जर र इमोमा जीवन्त सम्पर्क भने उहाँ दिल्लीमा रहदा र काठमाडौमा रहदा पनि भइरहेकै थियो । फोनमा दुःख सुखका कुराकानि भई रहन्थ्यो । म पनि पत्नीको मृत्युले पारेको पीडा सहन साथीभाइहरूको सहारा खोजिरहदा अनलाइनमा हुने साथीहरूसँग सुखदुःखका कुरा गर्थे । उहाँसँग पनि धेरैपल्ट मैलै अनलाइनमै एकआपसमा सुखदुःख साटासाट गरेको थिएँ । यसरी मैले उहाँसँगको सहयात्रालाई एकप्रकारले लामो सम्झेको छु । अझै कति कामकुरा गर्ने उहाँको धोको बाँकि थियो होला, उहाँसँगको सहयात्रामा अरु काम गर्ने मेरो पनि धोको थियो । ती धोको पूरा गर्न गर्न पाइएन त्यसैले छोटो सहयात्रा !
जीवन मान्छेको इच्छा मुताविक चल्दैन । जीवनको नियती र नियम ! उहाँको जीवनमा पनि रोगका कारण ग्रहण लाग्न सुरु भयो । फोनमा उहाँले नै बताउनु भए अनुसार उहाँलाई लागेको रोग लाखौंलाई लाग्ने मध्ये एक एक दुई जनालाई मात्र लाग्ने दुर्लभ प्रकारको क्यान्सर रोग रे । उहाँलाई रोगलागिसकेपछि धेरै साथीभाइहरूले उपचारमा सहयोग गरे । इन्द्रकुमार श्रेष्ठ, सावित्री श्रेष्ठ र छोरी डा. रक्षा श्रेष्ठप्रति उहाँले विशेष धन्यवाद ज्ञापन गरेर फेसबुकमा फोटोसहित पोष्ट गर्नुभएको थियो । उहाँ दिल्लीमा उपचाररत हुँदा उहाँको फेसबुकका पोष्टहरू नियमित जस्तै हेरिरहेको हुन्थेँ । उपचारमा भईरहेको प्रगति विवरण त्यसैबाट साथीहरूलाई जानकारी भईरहेको हुन्थ्यो ।
धेरैभन्दा धेरैले उहाँको स्वास्थलाभको कामना गरिरहेका हुन्थे । नआत्ति रोगलाई जित्न प्रेरित गरिरहेका हुन्थे र धेरैलाई आशा र विश्वास थियो— आधुनिक उन्नत स्वास्थ प्रविधि, राम्रो अस्पताल र डाक्टर नर्सहरू र उहाँको उच्च मनोबलले उहाँलाई बचाउने छ । रोगले चाप्दै गएपछि भने उहाँले अलिक हतास भएर दर्दनाक दुखेसोहरू पनि पोष्ट गर्न थाल्नु भएको थियो । क्यान्सरको अन्तिम अवस्थामा असाध्य शारिरीक पीडा हुन्छ रे । भौतिकतामा विश्वास गर्ने मान्छे भएपनि रोगको पीडा सहन मुस्किल हुँदा गाउँदेखिको सहरसम्मका सबै देवीदेवता, देउराली, सिमेभुमेलाई पुकारा गरिसकेँ ‘कि निको पारी हाल कि लगिहाल’ जस्ता पोष्टहरू देख्दा आँखा रसाउथ्यो । तर गर्न नै के सकिन्थ्यो र ! आयु मान्छेको वशमा हुँदैन ।
जिउँदाहरूले सदैव धरतीमा बसिरहन पाउदैनन् । धरा छोडेर जानैपर्छ, जीवनको नियम ! सबैले जानै पर्छ ...
अन्तिम टिलपिल चम्चमाउनु तारा !
मिलिक्कै तुरिने नौरङ्गी जिन्दगीमा
नौरङ्गी सम्झना ढुकढुकी प्यारा
परन्तुसम्म चम्चमाईरहने कृति र काम हो सहारा !
... ...
जहाँबाट आएको फर्कनै पर्छ त्यतै
कोही पनि सदैव रहन सक्तैन यतै
जहाँबाट आयौँ फर्कनु छ त्यतै
बस्न सकिने भए यतै कतै
फर्कन्थे होला जिउँदो को ?
फर्कनै पर्ने भएकैले फर्कने हो !
बिस्मात मान्ने किन
सबैको आउँछ फर्कने दिन !
... ...
ढिलो छिटो मात्रै हो । फर्किसकेका अथवा गईसकेकाहरूलाई यहाँ केही बेर रहेकाहरूले सांसारिक चलनअनुसार श्रध्दाञ्जली दिने गर्छन् । ध्यानजीको परिवारमा गहिरो समवेदना व्यक्त गर्दै जीवनको केही लामो वा छोटो समयका प्रिय सहयात्री साथी ध्यानबहादुर राईप्रति हार्दिक भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्छु ! ! !
— —
२०७७ । ९ । २३ । ५
३.
भुइँदल राई ः प्रेरक व्यक्तित्व
सरण कुमार राई
सबै मानिसहरूलाई मानिसहरूले सम्झिरहदैनन् । केही मानिसहरू जो एउटा निश्चित आस्थाका लागि जीवनभर क्रियाशील रहन्छन् र समाज विकासमा सहयोगि हुन्छन् त्यस्तालाई भने मानिसहरूले सदैव सम्झिरहेका हुन्छन् । यसरी मानिसहरूले भुल्न नसक्ने मानिसहरूमा भुइँदल राई पनि हुनुहुन्छ ।
उहाँलाई सम्झदा उहाँले आफ्नो जीवनकालमा गर्नुभएका असल कामहरू जसले समाजमा एक प्रकारको प्रभाव पार्न सफल भयो र समाज उत्थानमा भूमिका खेल्यो ती कामहरूको व्यापक चर्चा भुइँदल राई इतिवृत मा भइसकेको छ । ती कामहरूको सारसंक्ष्ंोपकोे आधारमा भुइँदल राई एक प्रेरक व्याक्तित्व रहनु भएको कुरा त्यतिबेला उहाँबाट प्रेरित रहेर सक्रिय रहेका भोजपुर, सुनसरी र काठमाडांैका वासिन्दाहरूबाट थाहा पाइन्छ । उहाँको सक्रियता, लगनशीलता र काममा निरन्तर खटिरहने बानीबाट धेरै मानिसहरूले प्रेरणा पाएका थिए र भविष्यमा पनि उहाँको जीवनीबाट प्रेरित भईरहनेछन् । उहाँको जन्म वि.सं.१९८६मा दुर्गम गाउँमा भएको थियो जुनबेला कुनै प्रकारकों शिक्षा, स्वास्थ यातायात आदिको सुविधा थिएन । १६ वर्षकै उमेरमा उहाँको विवाह भयो । स्वअध्ययनकै भरमा उहाँले ९७ वटा पुस्तक लेख्नु भयो । पत्नीको देहान्तपछि २९ वर्षको एकल जीवन छोराछोरी परिवारको साथै समाजकै उन्नयनका लागि न्यौछावर गर्नु भयो । उहाँको त्यो त्यागले आज उहाँका सन्तानहरू राम्रो अवस्थामा पुग्न सफल भएका छन् । समाजले पनि उहाँबाट धेरै सकारात्मक योगदान र विचार प्राप्त गरेको छ र त्यही भएर उहाँलाई सम्झिरहनु पर्ने भएको छ ।
निश्चित उद्धेश्य र गन्तव्य प्राप्ति खातिर निरन्तर नथाकि कसैका सामु नझुकि अनवरत लागिरहनु र अन्तमा केही न केही समाज, समुदाय र मानव सभ्यतामा योगदान दिन सक्नु उहाँको विशेषता रहेको छ । आफ्नो आस्थाकै लागि तीनपटक जेल जानु भयो, अनेकौ यातना कष्ट भोग्नु भयो तर देश र समाजको सेवा गर्ने दृढ सङ्कल्पबाट च्युत हुनु भएन । एकाग्र भएर मृत्युपर्यन्त लागिरहनु भयो । राजनीतिमा लागिरहदा अनेकौं उतारचढाव धोका यडयन्त्र भोग्दै रा.प.स. पनि हुनुभयो । उहाँको जीवनबाट उहाँका समकालिनहरूले सरल जीवन उच्च विचारका पाठ सिके र भावी पुस्ताले उहाँको जीवनबाट ग्रहण गर्नुपर्ने शिक्षा पनि त्यही हो । रा.प.सं., जिल्ला सभापति वा अनेक पदहरूमा रहदा र पदमा नरहदा पनि उहाँको रहनसहन आचार विचार र व्यवहार सधैं एकनासको सादा र सरल रहेको थियो । लगनसीलता, धैर्य, कामप्रति दृढ विश्वास र कर्तव्यपरायणता उहाँको जीवन चरीत्र थियो ।
९७वटा पुस्तक लेख्नु र प्रकाशित गर्नु भनेको चानचुने कुरा होइन । उहाँँको अन्तिम पुस्तक सिस्नुको विमोचनमा किरात राई बान्तावा खिमको केन्द्रिय अध्यक्षको हैसियतमा मैले पनि सहभागि हुने सौभाग्य पाएको थिएँ र त्यतिबेला मैले भनेको सम्झन्छु त्यो उमेरसम्म पनि निरन्तर लेखिरहनु गौरवको कुरा हो । हो भुइँदल राई गौरव गर्न लायक मान्छे हुनुहुन्थ्यो र उहाँले गरेका योगदानहरूको उचित कदर गर्नु उहाँप्रति र समाजका लागि सक्रिय हुने महान् मानिसहरूप्रतिका सम्मान पनि हो । यस्ता सम्मानले मानव समुदायलाई अगाडि बढाउन मद्दत गर्छ र असल मानिसहरूको सम्मान गर्नु हाम्रो कर्तव्य हो ।
सरल जीवन उच्च विचार, ९१वर्षको उमेरसम्म पनि निरन्तर लेखिरहनु, निश्चित उद्धेश्य र गन्तव्य प्राप्ति खातिर निरन्तर नथाकि कसैका सामु नझुकि अनवरत लागिरहनु र देश र समाजको सेवा गर्ने दृढ सङ्कल्पबाट च्युत नहुनु, लगनसीलता, धैर्य, कामप्रति दृढ विश्वास र कर्तव्यपरायणता जस्ता उहाँको चारीत्रिक विशेषताहरूले उहाँ प्रेरक व्यक्तित्व रहनुहुने निर्विवाद छ । अन्तमा उहाँ प्रेरक व्यक्तित्व हो भन्ने निष्कर्षसाथ समाजसेवी, समाजसुधारक, चिन्तक, लेखक र राजनीतिज्ञ उहाँप्रति सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु !
२०७७ चैत १३
४.
मित्र श्री लेखनाथ घिमिरेप्रति अभिनन्दन उद्गार
सरण कुमार राई
गत वर्ष २०७८ चैत २५ गते ‘इटहरी रचना वाचन तथा सांस्कृतिक प्रदर्शनी’ कार्यक्रममा धरानबाट प्रा. डा. टङ्क न्यौपाने, बम देवान, कुन्ता शर्मा र म समेत थुप्रै साहित्यकारहरू सहभागि भएका थियौँ । सो कार्यक्रम चलिरहेकै अवस्थामा कवि शिरोमणि लेखनाथ पौड्यालजस्तै सेतै लामालामा दा¥हीजुँगा भएका एकजना मानिस मञ्चमा आए । ससम्मान बसाइसकेपछि परीचय दिइयो— लेखनाथ घिमिरे ।
लेखनाथ घिमिरे मेरो पञ्चायत व्यवस्थादेखिको (२०३०सालभन्दा अगाडिदेखिको) साथी । नाम नसुनुन्जेल चिन्न सकिनँ । लामालामा दा¥हीजुँगाले ढाकिएको अनुहार नाम सुनेपछि नियालेर हेरेँ, सेतै लामालामा दा¥हीजुँगा भएका लेखनाथ पौड्यालजस्तै गम्भिर आकर्षक व्यक्तित्व भएका लेखनाथ घिमिरे । ८÷९ वर्ष अगाडि भेट्दा दा¥हीजुँगा पालेका थिएनन् । लामालामा दा¥हीजुँगा पालेका उनलाई अन्त बाटामा भेटेको भए चिन्नै नसक्ने । मजस्तै राणाशासनकालमा जन्मेर नेपालमा आएका विभिन्न राजनैतिक व्यवस्थाहरू— २००७ सालपछिको बहुदलीय व्यवस्था, पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था र वर्तमान गणतान्त्रिक व्यवस्था भोगिसकेका परिवर्तनकारी, बलिदानी, निरंकुश शासन व्यवस्था फालेर उन्नत गणतान्त्रिक राजनैतिक व्यवस्था ल्याउन सफल गौरवशाली पुस्ता र युगका समकालिन दौतेरी मित्र लेखनाथ घिमिरे !
नाम सुनेर चिनेपछि प्रसन्न भएर भर्खरै मेरो प्रकाशित कवितासङ्ग्रह ‘बाटाभरि ओइलिरहने पूmल’ उपहार दिएँ । सायद उहाँले पनि मलाई त्यो पुस्तकमा नाम देखेपछि मात्र चिन्नु भयो । धरान इटहरी नजिक नजिक भएर पनि धेरै लामो समय हाम्रो भेट हुन सकेको थिएन ।
लेखनाथ घिमिरेसित मेरो कहिले परीचय भयो ? म तिथी मिती भन्न सक्तिनँ तर उहाँसँगको मेरो परीचय मित्रता २०३०साल भन्दा अगाडिकै हो । इटहरीकै अर्का मेरो मिल्ने साथी उमानाथ रिजालको घर र उहाँको पुरानो घर नजिकनजिकै यियो । उमानाथसँग नै म उहाँको पुरानो काठको घरमा गएको थिएँ । त्यहाँ उहाँको १०१वर्षकी आमा हुनुहुन्थ्यो । हामी १०१वर्षकी आमालाई भेट्न लालायित थियौँ र भेट्न गयौँ । आमा निधाईरहनुभएको थियो र उठाउन उचित नठानेर दर्शन गरेर फर्किएको घट्ना मेरो मानसपटमा अझै ताजा नै रहेको छ । त्यतिबेला मेरो मनमा लागेको थियो— १०१वर्षकी आमाको सह्यारसम्भार गर्न र १०१वर्षकी आमाको आशिर्वाद पाउने भाग्यमानी छोरा लेखनाथ रहेछन् । त्यतिबेलैदेखि उहाँप्रति मेरो मनमा एक प्रकारको श्रद्धा स्नेह सम्मान उब्जेको थियो जुन उहाँको शिष्ट र मिलनसार गुणका कारण अझै यथावत रहेको छ ।
धनकुटामा एक पटक सँगसँगै हामी दुईजनाले मात्र एउटै कोठामा बस्ने अवसर पाएका थियौँ । हामी त्यहाँ प्राध्यापकहरूको वा पार्टिको कुनै दुई दिने कार्यक्रममा गएका थियौँ । (कस्तो कार्यक्रम र कुन साल भन्ने चाहीँ मैले बिर्से सायद पञ्चायतको अन्तपछि ४०को दसकमा हुनुपर्छ ।) त्यस अवसरमा राति अबेलासम्म अनेक विषयमा खुलस्तसाथ कुराकानी आत्मिय र अपनत्वकासाथ गरेका थियौँ । त्यसबेला मैले उहाँलाई राम्ररी बुझ्ने मौका पाएँ । त्यति बेलै उहाँ सरल, भद्र, मिलनसार, मनमा कपट नभएको असल मानिस र साथीभाइको कुरा ध्यान दिएर सुन्न सक्ने धैर्यवान श्रोता पनि हुनुहुँदो रहेछ भन्ने अमिट प्रभाव ममा परेको थियो । अरुका कुरा सुन्ने धैर्य कम मानिसहरूमा मात्र पाइन्छ । त्यसपछि पनि विभिन्न कार्यक्रम सभा समारोहहरूमा २०६०सालसम्म उहाँसँग भेट भईरहेको थियो । मैले त्रि.वि. छोडेपछि र प्रौढावस्थाको आगमनपछि भने हाम्रो भेटघाट पातलिदै गयो ।
लेखनाथ घिमिरे अधययनशील पनि हुनुहुन्छ भन्ने मलाई धरानको हरियालीमा प्राध्यापक एवं बुद्धिजिवीहरूको बनभोजमा थाहा भयो । त्यहाँ उहाँले जगदिश घिमिरेको मदन पुरस्कारप्राप्त पुस्तक र अन्य महत्वपूर्ण पुस्तकको बारेमा सटिक चर्चा परिचर्चा गर्नुभएबाट उहाँको अध्ययनशीलताबारे मलाई थाहा भएको थियो ।
लोकतन्त्र आइसकेपछि फोहोरी राजनीतिले प्रस्रय पाउन थाल्यो र पुराना इमानदार कार्यकर्ता पछाडि पर्न थाले । प्रौढावस्थाको आगमनसँगै म पनि फोहोरी राजनीतिमा पछाडि परेको अनुभूतिले साहित्यतर्फ आकर्षित हुन पुगेँ । आफ्नै खर्चले मैले पनि ‘अन्तिम आयाम’ कथासङ्ग्रह र ‘मानव संसार’ उपन्यास प्रकाशन गरेँ । ती पुस्तक बिक्रि गर्न भनेर ‘विश्व आदर्श एकेडेमी’ पुगेँ । त्यहाँ त आफ्नै साथी लेखनाथ घिमिरे पो प्राचार्य र अध्यक्ष हुनुहुँदो रहेछ । उहाँले मैले लेखेका पुस्तकहरू खुसी हुँदै किनी दिनुभयो । त्यहाँ पुगे पछि उहाँको सामाजिक, शैक्षिक र साहित्यिक संस्थाहरूमा सदैव सक्रिय रहिरहने अर्को पाटा स्पष्ट भयो । अझै अहिले जीवनको उत्तराद्र्धमा पनि आलस्यको सट्टा उहाँमा अरु थप क्रियाशीलता बढ्दै गएको देखिन्छ ।
गणतन्त्र आईसकेपछि साथी राजकुमार कार्कीबाट चतरामा धामिक आश्रममा ‘हठयोग’ गराइन्छ भन्ने थाहा पाएर म पनि पत्नी लक्ष्मी राईलाई लिएर आश्रममा पुगेँ । लेखनाथ घिमिरे, टङ्क न्यौपाने र राजकुमार कार्की पनि त्यहाँ हुनुहुन्थ्यो । त्यहाँ परीचयको कार्यक्रमपछि हठयोगको कार्यक्रम सुरु भयो । हठयोग भनेको ध्यानमग्न भएर बस्ने र शरीरलाई स्वतन्त्र छाडिदिएपछि शरीर, हातखुट्टा वा अन्य शारीरिक अङगहरू काम्ने वा अरु विविध क्रियाकलाप स्वस्पूmर्त रूपमा हुनु हो भनिएको थियो । हामी पनि सहभागि भयौँ । पलेटी कसेर बस्यौँ । लेखनाथ सरको खुट्टा तिघ्रा अलिअलि काम्न थाल्यो भने राजकुमार कार्की बर्बराउदै भुइँमा नै लडिबुडि गर्न थाले । त्यहाँ अरु सहभागि महिला पुरुषहरूले पनि कोही राधाझैँ कोही शिकारी झैँ अनेक हावभाउ गर्न थाले भने एउटी युवतीको भने आँखा नै बाहिर निस्केर महाकालीझैँ भएकी आदी देखियो । म र टङक सरमा भने कुनै असर देखिएन । मैले निकै ध्यान लगाएर हठयोगको असर ममा पनि देखिन्छ कि भनि विचार गरिरहेँ तर केही भएन । त्यसपछि हामी पतिपत्नी उहाँहरूलाई त्यही छोडेर फर्कियौँ । बाटामा पत्नीलाई सोधेँ— ‘कस्तो लाग्यो ?’ ‘मलाई त पत्यार लागेन’ भन्ने जवाफबाट म पनि परिक्षणको अवस्थामा बसिरहने मनस्थितिबाट मुक्त भएँ । त्यहाँ नयाँ र आध्यात्मिक कुराहरूप्रतिको जिज्ञासा र उत्सुकताले नै लेखनाथजीलाई पनि पु¥याएको थियो ।
एक पल्ट मित्र स्व. सूर्यकुमार राई र उमानाथ रिजाल दुवै मिल्ने र सँगसँगै एउटै क्याम्पसको एउटै विभागमा काम गर्ने साथीहरूको बीचमा लेनदेनको विवाद हुँदा लेखनाथ , म र उहाँहरू बसेर सो विवादबारे एउटा निष्कर्श निकालेका थियौँ । त्यतिबेला लेखनाथ सरको निष्कर्श क्षमता हामीले महसुस गरेका थियौँ । उहाँको निष्कर्श क्षमताले दुई साथीहरू बीचको विवाद साम्य भएको थियो जुन कुरा हेर्दा सानो देखिए पनि बुद्धिमानीपूर्ण थियो ।
लेखनाथजस्ता व्यक्तित्वहरू समाजका आदर्श, पथप्रदर्शक र सम्मानीय व्यक्तित्वहरू हुन् । लेखनाथ घिमिरेमा भएका असल गुणहरू क्रियाशीलता, निस्वार्थ सामाजिक र शैक्षिक सेवामा आवध्दता, साहित्यिक गतिविधिमा संग्लग्नता र अग्रगमनका लागि प्रगतिशील सोचविचारका, बलिदाने मूल्याङ्कन गरीनु भनेको असल मानिसहरूका सहि मूल्याङ्कन पनि हो । उहाँजस्तै यस पूस्ताका असंख्य मानिसहरूको योगदान, सङ्घर्ष, जुझारुपन, निरंकुशताप्रति बिद्रोह र बलिदान र त्याका कारण अहिलेको अवस्थामा हामी आईपुगेका हौँ । लेखनाथ सरको अभिनन्दन सम्मान गर्नु भनेको सङ्घर्षशील, आन्दोलन र बिद्रोहमै जीवन बिताउने बलिदानी त्यागी गौरवशाली पुस्ताको कदर र सम्मान पनि हो । सक्रियताले मानिसलाई सफलता, सम्मान र सन्तोष पनि प्राप्त हुन्छ भन्ने प्रमाण पनि हो । उहाँजस्ता असल मानिसहरूका जीवनबाट सिक्ने पाठ हो —
सांसारिक जीवनको सौन्दर्य
सक्रियता, सेवा, संयम र धैर्य !
मभन्दा दुई वर्ष मात्र जेठा म्रा समकालिन साथी लेखनाथ घिमिरेको अभिनन्दन उद्गार लेख्न पाउनु मेरो अहोभाग्य हो । यस्तो सुखद अवसरमा लेखनाथ घिमिरे ज्युको सुस्वास्थ्य, दिर्घायु र सुखी जीवनको अभिनन्दन शुभकामना व्यक्त गर्दछु ।
२०७९ भदौ २४, धरान
५.
(लघुसंस्मरण)
मदन भण्डारीको स्मरण शक्ति
सरण कुमार राई
२०४७ साल याने कि भर्खर बहुललीय व्यवस्थाको पुनः स्थापना भएको वर्ष— २०४६सालको जनआन्दोलनले विजय प्राप्त गरेको समय । नेपाल कम्युनिष्ट पार्टि एउटै नभएको विभिन्न पुच्छर भएका ने. क. पा. माक्र्सवादि, माले, मसाल, संयुक्त आदि थिए । म त्यतिबेला धरानका चारैवटा क्याम्पसका प्राध्यापकहरूको नेतृत्वदायी भूमिकामा रहेको थिएँ । २०४७ असारमा महेन्द्र क्याम्पसमा धरानका चारैवटा क्याम्पसका प्रगतिशील प्राध्यापकहरूको भेला राखिएको थियो । २०४६को जनआन्दोलनमा प्राध्यापकहरूको सक्रिय सहभागिता पेनडाउन, कालो पट्टी बाँध्ने देखि शोकसभा गर्ने जस्ता कामहरू भएका थिए । धरानमा पनि यी कार्यक्रमहरू भएका थिए । प्रजातान्त्रिक प्राध्यापकहरूको नेतृत्व लोकेन्द्रप्रसाद आचार्य सरले गर्नुभएको थियो भने प्रगतिशील प्राध्यापकहरूको मैले गरेको थिएँ । जन आन्दोलनको सफलतापछि दुई नेताहरूले सो प्राध्यापक भेलालाई सम्बोधन गरेका थिए ।
सो भेलाको सभापतित्व मैले गरेको थिएँ । मेरो दाहिनेपट्टि मानमोहन अधिकारी देब्रेपट्टि मदन भण्डारी र बीचमा म बसेको थिएँ । अहिलेजस्तो त्यतिबेला मोबाइल, डिजिटल क्यामेरा थिएन । फोटो खिच्न प¥यो भने रिलवाला क्यामेरा मात्र थियो, रिल भरिएको क्यामेरा आपूmसित हुनुप¥यो वा फोटोग्राफरलाई ल्याउनु पथ्र्यो । अहिले फेसबुक र सामाजिक सञ्जालमा ठूला मान्छेसित सँगसँगै बसेको तस्वीर पोस्ट गरेर नाक ठडाउने चलनै चलेको छ । त्यतिबेला त्यो अविस्मरणिय क्षणको तस्वीर खिचेर राखेको भए म पनि केही मानिसहरूलार्इृ ठूलो मानिसको मान्छे भएको भ्रम दिन सक्थेँ ।
जे होस् त्यो क्षण अहिले पनि मेरो सम्झनामा ताजै छ । मनमोहन अधिकारीसँग त पञ्चायत कालमा जेलबाट छुटेपछि (जुनबेला म एम.ए.को बिद्यार्थी थिएँ) रत्नपार्कमा घाम ताप्दै बदाम खाँदै गफगाफ गरेका थियौँ । मनमोहनको सरलता र साधा जीवनसँग म केही परिचित थिएँ । तर मदन भण्डारी नाम मात्र सुनेको केही बानीब्योहारा थाहा नभएको नेता थिए । त्यतिबेला एकिकृत पार्टि बनेको थिएन र कसरी शक्तिसाली कम्युनिष्ट पार्टि बनाउने चिन्तन भईरहेको अवस्था थियो । केही नेताहरूले कम्युनिष्ट पार्टिलाई सघाउ पु¥याउने संगठन ‘प्ररायुसंघ’ बनाउने कुरा गरिरहेका थिए । सो भेलामा मदन भण्डारीले “कम्युनिष्ट पार्टि देउरालीको ढुङ्गा नभएको जसको बखान पुजारीले गर्नुपर्ने । कम्युनिष्ट पार्टि आफै स्थापित हुन सक्षम रहेको छ ...” आदि कुराहरू स्पष्टतासाथ राख्नु भएको थियो । उहाँको भाषण हामी धेरैले पहिलो पटक सुनेका थियौँ । उहाँको विषय प्रस्तुति गर्ने तरिका ढृदता र बोलाइको सैलीले उहाको भाषण सुन्ने सबै प्रभावित भएका थियौँ । यसरी मदन भण्डारी सबल सक्षम नेता हुन् भन्ने छाप छोड्न उहाँ पहिलो भेटमा नै सफल हुनु भएको थियो ।
त्यसपछि नेपाल कम्युनिष्ट पार्टिको वृहत राष्ट्रिय कार्यकर्ता भेला पोखरामा २०४७ पौष १६ र १७गते भएको थियो । सो भेलाको सभापति मनमोहन अधिकारी विशेष अथिति भा.क.पा.को महासचिव सुरजित सिंह र मदन भण्डारी हुनुहुन्थ्यो । सो भेलामा मदन भण्डारीको माक्र्सवादि र मालेको एकिकरण हुने घोषणा भाषण भव्यताकासाथ सबै श्रोताहरूले तालीका गडगडाहतकासाथ स्वागत गरेका थिए । सो भेलामा पद्मरत्न तुलाधर र धरानका म, सेनकुमार राई, इन्द्रकुमार श्रेष्ठ, दलबहादुर छाया, रामप्रसाद श्रेष्ठ लगायत एक बस कार्यकर्ता सहभागि भएका थियौँ । यसपछि मदन भण्डारीका कैयौं भाषण श्रोता भएर सुनियो । सबै भाषणहरू सारगर्वित, प्रभावकारी र ऐतिहासिक हुन्थे ।
महेन्द्र क्याम्पसको भेलामा प्रत्यक्ष भेटघाट कुराकानी पछि त्यस्तो भेटघाट फेरि मदन भण्डारीसँग जुरेन तर मदन भण्डारीले रत्नपार्क र बागबजारको चौकमा फर्कि फर्कि मलाई हेरेको झझल्को भने अझै मेरो आँखामा आइृ रहन्छ । एमाले बनेपछि एउटा सामान्य कार्यकर्ता मात्र भएर बसियो । नेताको वरिपरी घुमेर चाकडि गरेर नेताको आँखामा चढ्ने स्वाभाव नभएकोले कुनै नेताहरूले मलाई पनि चिनुन् भन्ने भावना कहिल्यै राखिएन । म आफ्नो कामले रत्नपार्कतिर गईरहेको थिएँ । मदन भण्डारी १५÷२०जना कार्यकर्ताले घेरिएर सभागृहको कार्यक्रममा गर्इृरहेका थिए, जम्काभेट भयो । नेताले चिन्दैनन् नै भनेर अभिवादन पनि गरिएन र बोलाइएन पनि तर उहाँले धेरै पटक फर्कि फर्कि मलाई हेर्नु भयो । सायद धरानमा भेटेको सम्झना उहाँलाई थियो होला र त फर्कि फर्कि हेरे भन्ने सोचेँ । यसबाट मलाई के लाग्यो भने उहाँको स्मरण शक्ति तगडा थियो । साथीभाइ र कार्यकर्तालाई माया गर्ने र उनीहरूबारे याद गर्ने नेता थिए । एकै पटक भेटेको साथीभाइ र कार्यकर्ताहरूलाई पनि सम्झिन्थे भन्ने मलाई अझै पनि लागिरहेको छ । त्यतिबेला मैले उहाँलाई भेट्नु पथ्र्यो, नभेटेकोमा अझै पछुतो लागिरहेको छ ।
२०७८ साउन १७, धरान

Comments
Post a Comment